बाढी प्रभावितलाई इनास बेल्जियमको रु. एक लाख ६ हजारभन्दा बढी सहयोग, दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण

बाढी प्रभावितलाई इनास बेल्जियमको रु. एक लाख ६ हजारभन्दा बढी सहयोग, दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण

inas-belgium-team.png

बेल्जियम। नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहतका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेल्जियमले रु. १,०६,६०६.८० नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

उक्त सहयोग रकम इनास डान्स स्कुल बेल्जियमका शिक्षक–शिक्षिकाहरूले विद्यार्थीबाट संकलित विद्यालय शुल्कबाट आफूले पाउने पारिश्रमिक राहतमा प्रदान गर्ने निर्णय गरेपछि जुटेको हो। आफ्नो श्रमबापत प्राप्त हुने रकम विपद् प्रभावितहरूको सहयोगमा समर्पित गरेर उहाँहरूले मानवीय सेवाको उदाहरण प्रस्तुत गर्नुभएको छ।

यसै सन्दर्भमा इनास डान्स स्कुल ब्रुजमा बालबालिकासहितको विशेष अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा बालबालिकालाई नेपालमा आएको प्राकृतिक विपत्ति, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित नागरिकको अवस्थाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै केही समय मौनधारण गरिएको थियो। बालबालिकाले चित्रकलामार्फत मातृभूमि नेपाल र विपद् प्रभावितहरूप्रति आफ्ना भावना, माया तथा सदभाव व्यक्त गरेका थिए।

इनास बेल्जियमले प्रवासमा नेपाली भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। डान्स स्कुलमार्फत बेल्जियममा जन्मिएका तथा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई नेपाली नृत्य, भाषा, कला–संस्कृति, मन्त्रोच्चारण तथा ध्यानसमेत सिकाइँदै आएको छ।

शिक्षक–शिक्षिकाले आफ्नो पारिश्रमिक राहतमा समर्पण गर्नु र बालबालिकालाई मातृभूमिप्रतिको जिम्मेवारी तथा मानवीय सेवाको भावनासँग जोड्नु इनास बेल्जियमको प्रशंसनीय पहल बनेको छ। यस अभियानले प्रवासमा रहेका नयाँ पुस्तालाई नेपालीपनसँग जोड्दै नेपालीको दुःखमा संसारको जुनसुकै स्थानबाट पनि साथ दिन सकिन्छ भन्ने सन्देश दिएको छ।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij