नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबाट प्रभावित परिवारहरूको राहतका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) डेनमार्कले रु. १,००,००० (एक लाख नेपाली रुपैयाँ) सहयोग गरेको छ।
इनास डेनमार्कले गत अगस्ट २२ मा कोपेनहेगनमा सम्पन्न गायक नवीन के. भट्टराईको कन्सर्टमा सञ्चालन गरेको पेय पदार्थ स्टलबाट संकलित रकममध्यबाट उक्त सहयोग प्रदान गरेको जनाएको छ। संस्थाले यस सहयोगलाई “बाढी प्रभावित परिवारहरूको पीडामा मलम लगाउने सानो प्रयास” का रूपमा उल्लेख गरेको छ।
बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै इनास डेनमार्कले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित तथा प्रभावित नागरिकप्रति सहानुभूति र ऐक्यबद्धतासमेत प्रकट गरेको छ।
विपद्को कठिन समयमा उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनका लागि राज्यका सम्बन्धित निकाय, स्थानीय समुदाय तथा संघ–संस्थासँग हातेमालो गर्दै आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको इनास डेनमार्कले जनाएको छ।
साथै, डेनमार्कमा रहेका नेपाली समुदाय, संघ–संस्था, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकहरूलाई आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरी विपद् प्रभावित परिवारहरूको दुःखमा साथ दिन हार्दिक अपिल गरेको छ।