नेपालको रसुवा भोटेकोशी नदीमा आएको बाढि र त्यसबाट उत्पन्न प्रकोपका कारण ठूलो धनजनको क्षति र भौतिक संरचनाको विनाशप्रति अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) गहिरो दुःख व्यक्त गर्दछ। यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोककूल परिवारजनमा हार्दिक समवेदना र प्रभावित सम्पूर्ण नागरिकहरूमा हार्दिक सहानुभूति प्रकट गर्दछौँ। साथै उद्धार, राहत तथा पुनर्स्थापनाको कार्य शीघ्र र प्रभावकारीरूपमा अगाडि बढोस् भन्ने कामना गर्दै यस दू:खद घडीमा इनास सम्पूर्ण प्रभावित परिवार तथा समुदायको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दछौं ।
नेपाल सरकारले विपद प्रभावितहरूको पारदर्शी सहयोगका लागि 'एकद्वार प्रणाली'मार्फत राहत उपलब्ध गराउन आह्वान गरेको छ। यसै सन्दर्भमा विश्वभरि छरिएर रहनुभएका इनासका सम्पूर्ण क्षेत्रीय, राष्ट्रिय र राज्य समितिहरु वा पदाधिकारीज्यूहरु, कलाकार, साहित्यकार तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरूलाई आ-आफ्नो क्षमताअनुसार सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौं। यसप्रकार संस्थागत वा व्यक्तिगतरुपमा सहयोग गर्न चाहनुहुने महानुभावहरूले आफूद्वारा गरिने सहयोग रकम नेपाल सरकारको आधिकारिक 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' को बैंक खातामा सिधै जम्मा गरि वा ´दैवी प्रक्रोप आर्थिक सहायता वापत´ भन्ने व्यहोरा उल्लेख गरि संस्थाको बैक खातामा जम्मा गरि यस मानवीय अभियानमा सहभागी भइदिनुहुन अनुरोध गर्दछौँ। सरकारले तोकेको राहत कोषमा सहयोग रकम जम्मा गर्नुअघि सरकारी निकायबाट प्रकाशित आधिकारिक बैंक विवरण अनिवार्य रूपमा पुष्टि गर्नुहुन र क्षेत्रीय, राष्ट्रिय वा राज्य समितिहरु वा/र पदाधिकारीज्यूहरुद्वारा व्यक्तिगतरुपमा गरिएका आर्थिक वा अन्य सहयोगहरुको जानकारी तथा विवरणहरु संस्थाको केन्द्रिय डाटा प्रणालीमा राख्ने प्रयोजनका लागि ग्लोबल समितिलाई ईमेलमार्फत जानकारी गराई सहयोग गर्नुहुन समेत अनुरोध गर्दछौं।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्।
आनन्दू लामा
प्रवक्ता,
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)
ग्लोबल समिति
मिति: २८ अगस्ट २०२६